काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अब विज्ञहरूसँग छलफल कामको योजना बनाउने बताएका छन् ।
सोमबार शीतल निवासमा शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले अपर्झट मन्त्री बनेकाले अहिले नै यो काम गर्ने भनेर नभन्ने बताए ।
उनले भने, ‘म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तो यस्तो गर्छु भन्ने थिएँ । अपरझट मन्त्री भइएको छ । प्लान बनाएर आएको भए पो त । राजनीतिक क्षेत्रमा काम गरेर आएको भए यो गर्छु भन्ने हो । किताब बेच्दै गरेको मान्छेलाई अपरझट मन्त्री बनाइदिए, अब विज्ञहरूसँग छलफल गर्छु । राम्रा नाराम्रा दुबै खालमा विज्ञ सुझाव दिन आउलान् । तर राम्रा सुझाव लिएर काम गर्छु । म भगवान भएको भएपो यो यो गर्ने भनेर अहिले नै भन्न सक्थें । त्यसैले अहिले नै के गर्ने भनेर नसोध्नु ।’
उनले आफूलाई केही पनि सेवासुविधा नचाहिने बताए । उनले भने, ‘मलाई सेवा सुविधा केही पनि चाहिँदैन । मन्त्रालयमै ओछ्यान लगाएर सुत्ने हो । मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाएर खान्छु र खुरुखुरु काम गर्छु ।’ मन्त्री पुनले आफू मन्त्री हुने वितिक्कै निःशुल्क शिक्षाको कुरा नगर्न आग्रह गरे ।
उनले भने, ‘म भगवान हो र निःशुल्क शिक्षा दिन ? केही न केही होला, गरम्ला । अहिले कसरी भन्ने र पत्रकारले आजै मलाई नपेल्नु न हो ।’
राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी मन्त्री पुनले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ भने समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ ।

प्रतिक्रिया