काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त सार्वजनिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने बताएका छन् ।
पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री घिसिङले संरचना आफैं बनाउन कोष खडा गरी अभियान चलाउने बताएका हुन् । उनले अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदबाट विशेष कोष खडा गरिने बताए ।
उनले भने, ‘अर्थको सहमतिमा क्याबिनेटबाट विशेष कोष खडा गरिनेछ । विदेशका सबै नेपालीले अपनत्व लिने अपेक्षा छ। बनाउने नि हामी नै हौँ। जति सक्नुहुन्छ, गर्नुहोला । सङ्कलित रकम विशुद्ध रूपमा सरकारी संरचनाको पुनर्निर्माणमा खर्च गरिनेछ ।’
उनले सरकारी संरचनामा पुगेको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र तयार गर्न पनि निर्देशन दिएका छन् । उनले विशेषज्ञ टोली परिचालन गरी तीन दिनभित्र क्षति विवरण सङ्कलन गर्ने र त्यसलाई आधार मानेर एक साताभित्र पुनर्निर्माण तथा पुनस्र्थापना कार्ययोजना तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतका लागि पेस गर्ने बताए।

प्रतिक्रिया