प्रधानसेनापतिसँगको भेटपछि दुर्गा प्रसाईंः बालेन वा सुशीला कार्की स्वीकार गर्छु, कोही अगाडि नबढ्दा तयार छु


काठमाडौं । सरकार गठनका लागि जेनजी पक्षलाई प्रस्ताव ल्याउन आग्रह गरेको नेपाली सेनाले अन्य पक्षसँग पनि छलफल सुरु गरेको छ ।

बुधबार सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी पक्षका साथै अन्य पक्षसँग पनि छलफल गरेका हुन् । प्रधानसेनापति सिग्देलले बुधबार मेडिकल व्यवसायीसँग पनि छलफल गरेका छन् ।

प्रसाईंले प्रधानसेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

भेटबारे प्रसाईंले भनेका छन्, ‘यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशीला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु । तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन । म जुनसुकै परिस्थितिको लागि पनि तयार छु । आजको विषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो—गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।’