काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संलग्न भएको घोषणा गरेका छन् ।
मंगलबार सामाजिक संजालमार्फत शाहले सांसद पद त्याग गरेको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘म असिम शाह , प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु । गत दिनहरूमा भइरहेको जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ । मैले पटक–पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ— सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने। तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन्।’
उनले संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ यस्तो निर्णय लिएको बताएका छन् ।
उनले भनेका छन्, ‘संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो। भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको छ । संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ। सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु मेरो लागि अब सम्भव रहेन । म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु।’

प्रतिक्रिया