रास्वपाप्रति ओलीको टिप्पणीः जसको न इतिहास थियो, न इतिहास छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनैपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी मिसन ०८४ मा रहेको र निर्वाचनमा बहुमत ल्याउनै पर्ने बताएका हुन् ।

उनले अबको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताए । उनले भने, ‘हामी यतिबेला मिसन ०८४ मा छौँ। अबको निर्वाचनमा हामीले कम्तीमा एकल बहुमत ल्याउनुपर्दछ । हाम्रा सबै कमिटी र कार्यकर्ता परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन । मिसन ०८४ लाई हामीले निर्णायक राष्ट्रिय शक्तिमा उभ्याउने छौँ। हाम्रा नीति नै राष्ट्रिय नीति हो ।’

उनले एमाले जनताका बीचमा आशाको केन्द्र रहेका दाबी गरे । उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण हुने बताए । उनले भने, ‘हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ ।’

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई इतिहास नभएको पार्टी भएको बताएका छन् । उनले भने, ‘जसको न इतिहास थियो, न इतिहास छ। कसैले आरीबाट घोप्टाइदिएका त्यस्ता तत्वको बहाब आएको छ । के को बहाब आएको हो– ती तत्वको छानविन गर्दै जाने हो भने सबै भेटिन्छ।’