यसवर्ष स्वास्थ्यमा दुई हजार ५०० जनशक्ति थप गर्ने र सरकारी अस्पताललाई ५०० शय्यामा विस्तार गरिने


काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकको प्रश्नोत्तरमा जवाफ दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारका सबै स्वास्थ्य सेवा कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । सबै स्वास्थ्य कार्यक्रमलाई बीमा बोर्डमा एकीकृत गरेमा सस्तो, सर्वसुलभ र विपन्नलाई निःशुल्क उपचार सुनिश्चित गर्न सकिने उनले बताए ।

स्वास्थ्यमन्त्री पौडेलले विभिन्न शीर्षकमा स्वास्थ्य उपचार खर्च विनियोजन भए पनि अपेक्षित परिणाम नआएकाले सम्पूर्ण कार्यक्रम स्वास्थ्य बीमा बोर्डमा समेट्नुपर्ने धारणा राखे । सामाजिक सुरक्षा कोष र सञ्चयकोषमार्फत खर्च भएको रकम पनि बीमा  बोर्डमा गाभिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले चालु आवदेखि नसर्ने रोग, मानसिक स्वास्थ्य समस्यालगायत विषयमा समुदायस्तरबाट ‘स्क्रिनिङ’ गरी समयमै रोग पहिचान, रोकथाम, नियन्त्रण र सचेतना बढाउने कार्यक्रम अघि बढाइने जानकारी गराए । उनले बढ्दो व्यक्तिगत व्ययभार कम गर्न स्वास्थ्य सेवा व्यवस्थापन, उपचार, पुनःस्थापना र प्रशामक सेवामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री पौडेलले स्वास्थ्यका विशिष्ट जनशक्ति व्यवस्थापनमा कमजोरी रहेको उल्लेख गर्दै उनीहरूको दक्षता अभिवृद्धि, उचित निर्वाह भत्ता र उत्पादन वृद्धि गर्न लगानी बढाउनुपर्ने धारणा राखे । उनले यस वर्ष दुई हजार ५०० जनशक्ति थप गर्ने र सरकारी अस्पताललाई ५०० शय्यामा विस्तार गरी क्षमता बढाइने जानकारी दिए ।