सामाजिक सञ्जाल प्लेटर्फ बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको माओवादीको आरोप


काठमाडौं । नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल प्लेटर्फ बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको आरोप लगाएको छ ।

बिहीबार पार्टीको पदाधिकारी बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागिरहेको भन्दै यसमा गम्भीरतापूर्वक अध्ययन गरेर धारणाहरु सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘यसमा हामी निकै गम्भीरतापूर्वक अध्ययन गर्दैछौँ । अध्ययन सकेपछि हामीले हाम्रो धारणाहरु राख्ने नै छौं । तर अहिले हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर सरकार लागेको छ कि ।’

उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होइन जस्तो लागेको पनि बताए ।