उपत्यका प्रहरीको गज्जबको उर्दीः बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नु !


काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीका लागि गज्वबको उर्दी जारी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गरी राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको छ ।

त्यस्तै प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै  नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्न आग्रह गरेको छ ।

ध्वनि प्रदूषणले गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका, विद्यार्थी, बिरामी तथा मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले छिमेकीलाई असुविधा हुने गतिविधि नगर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

फोनमा ठूलो स्वरमा नबोल्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, भान्सामा भाँडाकुँडा नबजाउन, राति गेट वा घन्टी बजाउनुको साटो फोनको प्रयोग गर्न पनि प्रहरीले अपील गरेको छ ।

साथै, मोटरसाइकल स्टार्ट गर्न छिमेकीलाई डिस्टर्ब हुने भए पर लगेर मात्र स्टार्ट गर्न र घरबाहिर फोहोर नफाल्न पनि प्रहरीले अपिल गरेको छ ।

छिमेकमा यस्ता गतिविधि भए १०० वा १०३ मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ । माथि उल्लेखित कुनै पनि गतिविधि गरेर टोल छिमेकलाई डिस्टर्ब गरेमा ३ लाखसम्म जरिवाना हुन सक्नेतर्फ पनि प्रहरीले सचेत गराएको छ ।