उपाध्यक्षद्वयको असहमति पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयमाथिमात्र हो, दस्तावेजमाथि होइनः महासचिव पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यो असहमति दुई उपाध्यक्षले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावमाथि नभई सदस्यता निर्णयसँग सम्बन्धित रहेको बताएका हुन् ।

महासचिव पोखरेलले कसलाई पार्टी सदस्यता दिने वा नदिने भन्ने निर्णय विधान महाधिवेशनको दस्तावेजको विषय नभई सामान्य संगठनात्मक निर्णय भएकाले त्यस विषयमा उठेको फरक मतलाई विधान महाधिवेशन वा राष्ट्रिय महाधिवेशन कुन तहमा छलफल गर्ने भन्ने निर्णय सचिवालय बैठकले गर्ने बताए ।

उनले भने, ‘कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय दस्तावेजको विषय होइन । यसअर्थ यो निर्णयमाथिको फरक मत हो । निर्णयमाथिको फरक मत चाँही विधान महाधिवेशनमा छलफल गर्ने की राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने विषय सचिवालयको बैठकले निरुपण गर्ला ।’

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिइने निर्णयलाई लिएर पार्टीभित्र विवाद देखिएको छ । यद्यपि, महासचिव पोखरेलले यो विषयले विधान महाधिवेशनको मूल बहसलाई प्रभावित नगर्ने बताएका छन् ।