आफ्ना नेताहरुको बदनाम गर्न सत्तापक्षले ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिएको रास्वपाको आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावनाअनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन् ।

उनले भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलित हुँदै गर्दा सत्तापक्षले सुन्दै नसुनी ९५ दिन प्रतिवादमा खर्च गरिरहेको बताए ।

उनले विरोधका आवाजहरुलाई दमन गरेर सदनभित्र सिर्जनात्मक बहस गर्ने आफूहरुमाथि सदनमा नसकेर बाहिर डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको बताए ।

उनले भने, ‘हामी विगत ९५ दिनदेखि आन्दोलनरत छौं । भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध हामी आन्दोलित हुँदै गर्दा सत्तापक्षले सुन्दैन । सत्तापक्षका माननीयज्यूहरुले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टै समय प्रतिवादमा खर्च गरिरहनु भएको छ । अराजक शैलीसँग मिथ्या आरोपहरु हामीमाथि लगाइराख्नु भएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि यो सदन भित्र नसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको छ । म यो शैली, चरित्रको निन्दा गर्न चाहन्छु । विरोधका आवाजहरुलाई दमन गरेर यो शैलीले लोकतन्त्र बलियो बन्न सक्दैन ।’

उनले विरोधका आवाजहरूलाई दमन गरेर लोकतन्त्र बलियो नबन्ने पनि जिकिर गरे । सांसद ढकालले अन्तिममा रास्वपाको आन्दोलन जारी रहेको र सदन बहिष्कार यथावत रहेको पनि बताए ।