गायिका इन्दिरा गोलेको निधन


काठमाडौं । चर्चित लोक दोहोरी गायिका इन्दिरा गोलेको ५९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको कारण गएराति ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा उनको निधन भएको पारिवारले जनाएको छ ।

उनका ‘चागुनारायण थान’, ‘घुम्तीनीर लेट भयो’, ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका गीत चर्चित छन्। तिनै गीतबाट उनले प्रख्याती पनि कमाएकी थिइन्। ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्।

उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन् । बुधबार नै बौद्ध परम्परा अनुसार उनको अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघले जनाएको छ ।

अन्त्यष्टिअघि श्रद्धान्जलीका लागि उनको शव राष्ट्रिय नाचघरमा राख्ने तयारी छ । उनका दुई छोरी छन् । उनका पतिको पनि क्यान्सर रोगकै कारण केही वर्षअघि निधन भएको थियो।