देश विकासका लागि साहित्य, कला, सङ्गीतलगायत प्राज्ञिक क्षेत्रको विकास उत्तिकै अपरिहार्य : राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘संसारको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’

राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे ।

उनले साहित्य भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा भएको बताए । राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिँदै उनीहरूको सृजना यात्राको उत्तरोत्तर प्रगतिको कामना गरे । कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाइ सम्मानपत्र तथा पुरस्कार वितरण गरेका थिए ।