काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रकर्मीलाई कलाकारितासँगै स्वास्थ्यको ख्याल राख्न र नियमित जाँच गराउन आग्रह गरेका छन् । आइतबार चलचित्र विकास बोर्डद्वारा आयोजित ‘विशिष्ट चलचित्रकर्मी वितरण समारोह’ मा उनले जीवनलाई स्वास्थ्य र तन्दरुस्त राख्न नियमित स्वास्थ्य जाँचका साथै अनुशासित जीवनशैली अपनाउन सन्देश प्रवाहका लागि आग्रह गरेका हुन् ।
मन्त्री गुरुङले भने, “हामीले आफ्नो स्वास्थ्यका बारेमा गरिने परीक्षणमार्फत बेलैमा विभिन्न जानकारी पाउने गर्छौं, यसले गम्भीर प्रकृतिका रोगबाट बचाउँछ । साथै, कलाकारको जीवनशैलीलाई आमदर्शक र नागरिकले पछ्याउने भएकाले पनि स्वास्थ्यसम्बन्धी गतिविधिमा चनाखो हुनु जरुरी छ ।”
उनले विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्राप्त गर्नेलाई एक लाख ५० हजार र चलचित्रकर्मीको परिचय प्राप्त गर्नेलाई ७५ हजारको स्वास्थ्य बिमा (औषधि/उपचारका लागि) उपलब्ध गराइने घोषणा गरे । मन्त्री गुरुङले चलचित्र क्षेत्रको समृद्धिका लागि सरकार र आफूले गम्भीर भएर काम गरिरहेको बताए ।
“सरकारले यस क्षेत्रमा सक्दो सहयोग गरिरहेको छ । नीतिगत कुरासँगै पूर्वाधार विकासमा पनि सकेको सहयोग गरेका छौँ । राष्ट्रिय चलचित्र दिवस (असोज १५ गते) घोषणा गरेका छौँ । उक्त दिनलाई भव्यताका साथ मनाउन चलचित्रकर्मीलाई आग्रह गर्दछु”, उनले भने ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नयाँ बन्ने चलचित्र नीतिले हाल देखिएका केही अपूर्णतालाई सम्बोधन गर्ने बताइन् । “चलचित्र क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न पुगेको छ । मनोरञ्जनमा सीमित यस क्षेत्रले जसरी आफ्नो अस्तित्व बनाउँदै सम्मानित क्षेत्र बन्न पुगेको छ, आगामी दिनमा अन्तरराष्ट्रियस्तर हासिल गर्नेमा पूर्ण विश्वस्त छु । यसका लागि चलचित्र निर्माता, निर्देशकसँगै हामीले पनि विकास बोर्डमार्फत विभिन्न कार्य गरिरहेका छौँ”, उनले भनिन् ।
बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीलाई राज्यले चलचित्रकर्मी परिचयपत्र दिएकाले यो महत्त्वपूर्ण रहेको बताए । उनले भने, “हामीले २० देखि ३० वर्षसम्म चलचित्रकर्ममा बिताएका चलचित्रकर्मीलाई परिचयपत्र दिएका छौँ । आफ्नो जीवनको ऊर्जावान समय चलचित्रको स्तरोन्नतिमा खर्चिनुभएका चलचित्रकर्मीलाई दिइएको परिचयपत्रमा बिस्तारै सकेको सेवासुविधा थप्दै जाने छौँ । यो राज्य दिएको एउटा पहिचान हो । हामीले यसमा कुनै विभेद नगरी प्रक्रिया पुगेका सबै चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिरहेका छौँ ।”
अध्यक्ष डिसीले चलचित्रमा काम सुरु गरेको ३० वर्ष पुगेकालाई विशिष्ट चलचित्रकर्मी र २० वर्ष नाघेकालाई चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको बताए ।
कार्यक्रममा अभिनेता विश्व बस्नेत, दीपकराज गिरी, रमेश उप्रेती, दीपाश्री निरौला, जीतु नेपाल, सुनिल थापा, शारदा गिरी, प्रदीपकुमार उदय, पुरुषोत्तम प्रधानलगायतका ८६ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको थियो ।




प्रतिक्रिया