भारत र चीनले कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति गर्दा किन लिपुलेक सम्झौताको उठेन कुरा ?


 

तियानजिन । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा आफ्नो प्रारम्भिक टिप्पणीमा चीन र भारत मित्र हुनु र ‘ड्र्यागन र हात्ती’ एकजुट हुनु महत्त्वपूर्ण रहेको बताएका छन्  ।

संसार जटिल र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र भारत दुवैका लागि– दुई प्राचीन सभ्यताहरू, दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र विश्वव्यापी दक्षिणका सदस्यहरू– मित्र र असल छिमेकी बन्नु, एकअर्काको सफलतालाई सक्षम पार्नु र ‘ड्र्यागन र हात्ती सँगै नाच्नु नै सही छनोट हो’ भनेका हुन् ।

सीले भने, ‘प्रधानमन्त्री मोदीलाई फेरि भेट्न पाउनु र साङ्घाई सहयोग सङ्गठन (एससिओ) को तियानजिन शिखर सम्मेलनमा चीनमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ ।’

प्रधानमन्त्री मोदीसँगको द्विपक्षीय बैठकमा उनले भने, ‘गत वर्ष हामीले कजानमा सफल भेटवार्ता गर्यौँ, जसले चीन–भारत सम्बन्धलाई नयाँ सुरुवात दियो । हामीले सहमत भएका महत्त्वपूर्ण बुँदाहरूलाई दुवै पक्षले कार्यान्वयन गरेका छन् र द्विपक्षीय आदानप्रदान तथा सहयोगले प्रगति गरेको छ ।’

सीले भने, ‘आज संसार शताब्दीमा एक पटक मात्र हुने परिवर्तनबाट प्रभावित छ । अन्तर्राष्ट्रिय अवस्था अस्थिर छ । चीन र भारत दुई प्राचीन सभ्यताहरू, विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका मुलुकहरू र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यका रूपमा दुवैले जनताको हित सुधार्ने, विकासोन्मुख मुलुकहरूको एकता बढाउने र मानव समाजको प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी बोकेका छन् । असल छिमेकी र सौहार्दपूर्ण साथी, एकअर्काको सफलतालाई सक्षम बनाउने साझेदार र ड्र्यागन र हात्तीलाई सँगै नचाउन दिनु नै सही निर्णय हो ।’

सीले यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव भएको स्मरण गर्दै भने, ‘दुवै पक्षले सम्बन्धलाई रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट हेर्नु आवश्यक छ । यसरी मात्रै सम्बन्धलाई दिगो, स्थिर र सुदृढ विकासतर्फ अघि बढाउन सकिन्छ । बहुपक्षवादलाई समर्थन गर्दै, बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्र ल्याउन, एसिया र विश्वमा शान्ति र समृद्धिको योगदान दिन हामीले मिलेर काम गर्नुपर्छ ।’

द्विपक्षीय वार्तामा मोदीले भारत–चीन सम्बन्धलाई आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

‘गत वर्ष कजानमा भएको हाम्रो फलदायी छलफलले सम्बन्धलाई सकारात्मक दिशा दियो । सीमामा विघटनपछि शान्ति र स्थिरताको वातावरण बनेको छ । सीमा व्यवस्थापनका लागि हाम्रा विशेष प्रतिनिधिहरूबीच सम्झौता भएको छ’, उनले भने, ‘दुई देशबीचको प्रत्यक्ष उडान पनि पुनः सुरु हुँदैछ । दुवै देशका दुई अर्ब ८० करोड जनताको हित हाम्रो सहकार्यसँग जोडिएको छ । यसले सम्पूर्ण मानवताको हितको मार्ग पनि प्रशस्त गर्नेछ । हामी आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा हाम्रो सम्बन्धलाई अगाडि बढाउन प्रतिबद्ध छौँ ।’

प्रधानमन्त्री मोदीले न्यानो स्वागतका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिए र साङ्घाई सहयोग सङ्गठन (एससिओ) को सफल अध्यक्षता गरेकोमा बधाई दिए । उनले भने, ‘एससिओको सफल अध्यक्षता गरेकोमा म तपाईँलाई बधाई दिन्छु । म तपाईंलाई चीन भ्रमणको निमन्त्रणाका लागि र आजको हाम्रो भेटका लागि धन्यवाद दिन्छु ।’

प्रधानमन्त्री मोदी शनिबार साँझ तियानजिन पुगेका हुन् । यो सात वर्षभन्दा बढी समयपछि उनको पहिलो चीन भ्रमण हो ।
हालै, भारत र चीनले द्विपक्षीय सम्बन्ध सहज बनाउन विभिन्न कदम चालेका छन् ।

अगस्ट १८ र १९ मा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुवै पक्षले प्रत्यक्ष उडान सम्पर्क पुनः सुरु गर्ने र अद्यावधिक गरिएको हवाई सेवा सम्झौतालाई अन्तिम रूप दिने सहमति गरेका थिए । साथै, पर्यटक, व्यवसायी, सञ्चारकर्मी लगायतका आगन्तुकहरूका लागि भिसा सुविधा दिने विषयमा पनि सहमति भएको थियो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक सम्झौताबारे चिनियाँ राष्ट्रपतिसँगको भेटमा कुरा उठाए पनि मोदी र सीको भेटवार्तामा यो विषय उठेन । बरु दुई देशबीच कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ । नेपालले उठाएको सीमा विवादको विषयमा भने दुबै देश मौन बसेका छन् अर्थात् वेवास्ता गरेका छन् ।