नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्ने


काठमाडौँ । ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) रिङमा उत्रने भएका छन् । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा यही भदौ २२ (७ सेप्टेम्बर २०२५)गते जापानको टोकियो सहरमा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।

‘हिमालयन चितुवा’का नामले विश्व परिचित बक्सर घिमिरेसहित चीन, बुलगेरिया, नेदरल्याण्ड्स, सेनेगल, ब्राजिल, पोल्याण्ड, आरमेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस, माल्डोभाका चर्चित बक्सरले प्रतियोगितामा कडा प्रतिष्पर्धा गर्दैछन् ।

नेपालको किक बक्सिङ खेल इतिहासमा नयाँनयाँ विश्व कीर्तिमान कायम गरिसक्नुभएका बक्सर घिमिरे प्रतियोगिताको पहिलो दिन फ्रान्सका प्रतिद्वन्द्वी आइमेरिक लेजीजीसँग आमनेसामने हुने तालिका के वान क्लबले सार्वजनिक गरेको छ । उसो त घिमिरेले सोही के वान खेलबाट नेपालको प्रतिनिधित्व गर्दै आफ्नो किक बक्सिङको अद्भूत प्रतिभालाई विश्वसामु प्रदर्शन गर्दै आएका छन् ।

घिमिरेले पहिलो खेल जितेमा पुनः यही कात्तिक २९ (नोभेम्बर १५, २०२५) मा एकैदिन तीन खेल खेल्नुपर्ने हुन्छ । उक्त तीन खेल खेल्दा विजय हासिल गरेमा किकबक्सिङ इतिहासमै विश्वको नम्बर वान खेलाडीको उपाधि हात पार्दै विश्व जगत्मा इतिहास रच्न सक्ने भाग्यमानी नेपाली खेलाडी बन्नेछन् ।

‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’लाई किक बक्सिङ खेल क्षेत्रको सर्वोच्च प्रतियोगिता मानिन्छ । ‘के वान वल्र्ड म्याक्स–२०२५ टुर्नामेन्ट’का लागि बक्सर घिमिरेले तयारीलाई तीव्र बनाएका छन् ।

आफ्नै खर्चमा बक्सर घिमिरेले थाइल्याण्ड्सको फुकेट सहरस्थित टाइगर मोथाई क्लबबाट विशेष प्रशिक्षण लिएर हालैमात्र जापान फर्किएका थिए । जापानमा आफ्ना पिता पूर्वअन्तरराष्ट्रिय किक बक्सिङ खेलाडी देव घिमिरेकै विशेष प्रशिक्षणमा अविरलले सो अन्तरराष्ट्रिय प्रतियोगिताका लागि अभ्यास गरिरहेको जनाइएको छ ।

अहिले प्रतियोगिता हुने टोकियो, सिवुआलगायत सहरका सार्वजनिकस्थलका होडिङबोर्डमा नेपाली झण्डासहित ‘हिमालयन चितुवा’का तस्बिरलाई प्रदर्शन एवं प्रचार प्रसार गरिएका छन् । ती विद्युतीय बोर्डमा घिमिरेले रिङमा भिडेका प्रतिस्पर्धालाई देखाइएको छ ।