राष्ट्रपति सी सँगको भेट फलदायीः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लगातार दोस्रो वर्ष भेट भएकोमा खुसी व्यक्त गरेका छन् । शनिबार अपरान्ह चीनको तियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रपति सीसँग लगातार दोस्रो वर्ष भेट गर्न पाएकोमा खुसी छु र फलदायी द्विपक्षीय वार्ता गर्न सक्यौं । हामीले विभिन्न विषयहरूमा भएको प्रगतिलाई समीक्षा गर्यौं र द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउन सहमति जनायौं । मलाई एससीओ प्लस शिखर सम्मेलनमा आमन्त्रणा गर्नुभएकोमा राष्ट्रपति सीप्रति आभार प्रकट गर्दछु।’

प्रधानमन्त्री ओलीले चीनमा रहँदा रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायतका नेताहरूसँग पनि साइडलाइनमा भेटवार्ता गर्ने छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार चीन गएका हुन् ।