चीन भ्रमणपछि विद्याजीसँग ओलीजी सशंकित हुनुभयोः प्रचण्ड


विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गरे ।

उनले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्टरूपमा राखेको उल्लेख गरे ।

उनले भने, ‘पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमणका अवसरमा आयोजित ‘प्रेस ब्रिफिङ’मा सीमा विवादका विषयमा चर्चा भएको र भारतीय प्रधानमन्त्री मोदीले सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।’

अध्यक्ष दाहालले छिमेकी मित्रराष्ट्र भारतसँग संवादको प्रक्रिया थालेर दुई देशबीचको सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिए ।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त भएको नहुने बताए । उनले भने, ‘संविधानले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन । कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन। त्यसकारण यो खाली कु तर्क मात्रै हो।’

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा अब छर्लङ्ग भएको बताए ।

चीन भ्रमणपछि विद्या भण्डारीलाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको तर पछि के भयो भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो । आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएपछि पूर्वराष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खोलिदिएको दाबी गरे ।