जनताका समस्या समाधान गर्न सरकार सुस्त छ, तर उपसभामुखलाई हटाउन चाहिँ अचम्मको फुर्ती देखाएको छः रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद बहिष्कारलाई संविधानविरोधी वा लोकतान्त्रिक मूल्यविपरितको अभ्यासका रूपमा चित्रण नगर्न चेतावनी दिएकी छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद डाँगीले सरकारले रास्वपाको आन्दोलन र संसद बहिष्कारलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै त्यसप्रति आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘सरकारले हामीले गरिरहेको आन्दोलन र बहिष्कारलाई लोकतान्त्रिक अभ्यासविरुद्धको कदम भनेर चित्रण गर्न खोजेकोमा म गम्भीर आपत्ति जनाउन चाहन्छु । संसद बहिष्कार कुनै संविधान विरोधी अभ्यास होइन, यो लोकतन्त्र भित्रको असहमतिको औपचारिक शैली हो । जुन विगतमा सत्तामा बसेकाहरूले पनि पटक–पटक प्रयोग गरेका छन् ।’

उनले रास्वपाको आन्दोलन सत्तापक्षलाई खबरदारी गर्न र जनताको आवाज संसदमार्फत् प्रतिनिधित्व गराउने उद्देश्यले गरिएको बताइन् ।

उनले भनिन्, ‘लोकतन्त्र केवल संख्याको बलमा सरकार चलाउने नाम होइन । प्रतिपक्षको आवाज सुन्ने संस्कृति नै लोकतन्त्र हो भन्ने कुरा सत्ता पक्षले बिर्सनु हुँदैन ।’

उनले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन अचम्मको फुर्ती देखाएको बताइन् । उनले भनिन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ । तर उपसभामुखलाई हटाउन चाहिँ अचम्मको फुर्ती देखाएको छ । सरकारले न्याय नभएर पक्षपातको नयाँ मापदण्ड स्थापित गरेको छ । विभिन्न मुद्दामा जोडिएका मन्त्री र आफ्ना मान्छेलाई जोगाएर सरकार अगाडि बढिरहेको छ ।’ सांसद डाँगीले भिजिट भिसा प्रकरणमा जारी रास्वपाको आन्दोलन जारी रहेको पनि बताइन् ।