काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत सोमबार उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि आफूले सरकारका तर्फबाट यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताएकी छन् ।
‘यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्तामा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु । निरन्तर यो प्रयास भइरहेको छ’, मन्त्री डा राणाले उल्लेख गरेकी छन् ।
यस्तो छ परराष्ट्रमन्त्री राणाको भनाई
हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको छ । यो नेपाल सरकारको दायित्व पनि हो । हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल भ्रमणमा हुनुहुन्छ र उहाँले हिजो इजरायली महामहिम राष्ट्रपतिसँग भेटगरी विपिनको रिहाइको अपील पनि गर्नुभएको छ ।
म परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एकवर्ष म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि लिएर अन्तर्राष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरु एवं मसँगको शिष्टाचार भेटका क्रममा विभिन्न देशका राजदूतहरुसँग बिपीनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु । गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरुसँग पनि यो अपील गरेकी थिएँ ।
त्यस अवसरमा जि ७७ प्लस, जि२०, एलडिसी राष्ट्रहरुको मञ्चका बैठकहरुलाई सम्बोधन गर्दा पनि मैले बिपीनको रिहाइका लागि विश्व समुदायसँग अपील गरेँ । उहाँहरुले पहल गर्छौँ पनि भन्नुभएको थियो । त्यसैगरी दोहामा आयोजित एसिडी सम्मेलनमा र त्यसपछिका साइडलाइन भेटहरुका साथै इरानका विदेशमन्त्री लगायत सबैसँग मैले सो आग्रह गरेँ ।
इजरायल र हमासबीच युद्धविराम भएपछि पनि त्यसमा काम गरेका देशका विदेशमन्त्रीहरु एवं नेपालमा रहेका राजदूतहरुसँग निरन्तर कुराकानी गरेँ । युद्धविराम भएपछि गत माघ १ गते कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनमार्फत् विशेष आग्रह गरेकी थिएँ । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।
सोही दिन नै साँझ इजरायली विदेशमन्त्री गिडियन सारसँग र माघ ७ गते इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग फोनमार्फत् विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिएँ ।
म आफ्नो शल्यक्रियाका लागि गत फागुनमा बैंककमा रहेका बेला समेत त्यहीँबाट इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिएँ । विपिनको सुरक्षित र शीघ्र रिहाइलाई सुनिश्चित गर्ने प्रयोजनका लागि मध्यपूर्वी देशका नेपाली दूतावासमार्फत निरन्तर संवाद गरिरहेकी छु र उहाँहरुलाई यस विषयमा गम्भीर भई आफ्नो मिसनबाट हुनसक्ने पहलहरुको खोजी गरी काम गर्न निर्देशन पनि दिएकी छु ।
त्यसैगरी गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँदिल्लीमा भेट गरी विपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिएँ । साथै त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि अनुरोध गरेकी थिएँ ।
मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग पनि गत फागुनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल सरकारले यो मुद्धालाई प्राथमिकतामा राखेर हरसम्भवका प्रयासमा जुटिरहेको छ । सरकार उहाँहरुको परिवारको साथमा छ र उहाँहरु पनि हाम्रा कूटनीतिक प्रयासहरुका बारेमा पनि जानकार नै हुनुहुन्छ ।

प्रतिक्रिया