राजनीतिक दल खोल्ने घोषणा गर्दै दुर्गा प्रसाईंले भने-चैत १५ मा मेरो हत्या गर्ने योजना थियो


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । भक्तपुरस्थित आफ्नै निवासमा सोमबार पत्रकार सम्मेलन गरी प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

उनले प्रदेश खारेजी, हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री लगायतको एजेन्डा अगाडि सारेका छन् । उनले आफू राजावादी नभई राष्ट्रवादी भएको बताए । उनले चैत १५ को आन्दोलन एमाले, राजावादी र राप्रपाले भड्काएको आरोप लगाए । उनले भने, ’ चैत १५ गतेको आन्दोलन राजावादी, एमाले र माओवादी मिलेर बिगारेको हो । म राजावादी होइन, राष्ट्रवादी हो । राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन् ।’

उनले चैत १५ गते आफूलाई मार्छन् भन्ने सूचना अघिल्लो दिनमा नै पाएको बताए । उनले भने, ‘अघिल्लै दिनमा मलाई सूचना के आएको थियो भने त्यहाँ घुसपैठ हुँदैछ, मलाई मार्दैछन् ।’

उनले आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको बताए । प्रसाईंले एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको बताए । उनले त्यो दिन नभागेको भएर आफूलाई मार्ने बताए । त्यसका लागि चार वटा इन्काउण्टर टिम खटाएको उनले दाबी गरे ।