माओवादी स्थायी समिति बैठकमा जनार्दनलाई आत्मालोचना गर्नदेखि प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नसम्मको सुझाव


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकअन्तर्गत शनिबार १८ स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले आ–आफ्नो धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रस्तावमाथि धारणा राख्ने अधिकांश नेताले नेतृत्वलाई बलियो र पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । बैठकमा नेताहरुले उपमहासचिव जनार्दन शर्मालाई आत्मालोचना गर्न आग्रह गरेका छन् ।

बैठकमा २५ नेताले विधि उल्लंघन गरी सार्वजनिक मञ्चमा अध्यक्ष दाहालको आलोचना गरेकाले शर्माले आत्मालोचना गर्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा सचिव राम कार्कीले अध्यक्ष प्रचण्डलाई प्रणाली बनाएर नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । उनले आलोपालो नेतत्व गर्ने गरी दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरी आफू विशिष्ट पदमा बस्न प्रचण्डलाई आग्रह गरेका छन् । बैठकमा उपमहासचिव वर्षमान पुनले मुख्य नेतृत्व कमजोर बनाउन नहुने टिप्पणी गरे ।

मुख्य नेतृत्व कमजोर हुँदा पार्टीलाई चारैतिरबाट प्रहार हुने भएकाले अध्यक्ष दाहाललाई बलियो बनाएर आन्तरिक एकता कायम गर्नुपर्नेमा उनले जोड दिए । बैठक आइतबार पनि बस्नेछ ।