काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी छाड्ने कल्पनासमेत नगरेको बताएका छन् ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी खनालले कसैले राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने बताएका हुन् । उनले विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्ने बताए ।
उनले भने, ‘यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन । मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क लगेर राजीनामा दिन्छु र ? पार्टीमा बसेर काम गर्ने क्षमता नहुनेले पार्टी छाडे हुन्छ । तर झलनाथ खनालले त्यस्तो काम जान्दैन ।’
खनालले एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै एक टेलिभिजनमा अन्तरवार्ता दिएपछि अध्यक्ष माधव नेपाल र खनालबीच वाकयुद्ध चलेको छ ।
खनालले विद्रोहको औचित्य पुष्टि हुन नसकेको बताएपछि अध्यक्ष नेपालले नैतिकताको आधारमा पार्टीबाट राजीनामा दिनुपर्ने बताएका थिए । खनालले पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेले पार्टी सदस्यता नदिए पनि भण्डारी कोठामै सीमित भएर बस्न नहुने बताए ।
उनले भने, ‘विद्या भण्डारी कोठामै सीमित हुनुभयो भन्ने विश्लेषणसँग म सहमत छैन । एउटा राजनीतिक मान्छेले म राजनीति गर्छु, सक्रिय हुन्छु भन्छ भने उसका लागि हजार बाटाहरू हुन्छन्। एउटा बाटो मात्र हुँदैन ।’

प्रतिक्रिया