आदि दैविक, आदि भौतिक र आध्यात्मिक अनुशासन र आजको प्रयोग


रामकृष्ण तिमल्सेना । 

सनातन दर्शनले मानव जीवनमा हुने पीडा, चुनौती र चेतनाको उन्नतिको लागि तीनवटा प्रमुख तहहरू, आदिदैविक, आदिभौतिक र आध्यात्मिकको गहिरो अध्ययन प्रस्तुत गरेको छ। यी केवल दुखका कारणहरू होइनन्; यी आधुनिक युगमा अनुशासन (discipline), चिन्तन प्रणाली, र सामाजिक-सांस्कृतिक उपयोगिताका आयामहरू पनि हुन्। यी त्रिविध दृष्टिकोणहरूले शरीर, मन, र प्रकृतिको समन्वयद्वारा सम्पूर्ण जीवनलाई सन्तुलित बनाउने अभ्यास सिखाउँछन्।
आदि दैविक भन्नाले प्रकृति र ब्रह्माण्डका अदृश्य, तर प्रभावशाली शक्तिहरूलाई जनाइन्छ। मौसम, वर्षा, भूकम्प, अग्नि, ग्रह–नक्षत्र, सूर्य–चन्द्र, वायुप्रवाहजस्ता प्राकृतिक चक्रहरू जीवनमा गहिरो असर पार्दछन्। हिन्दू धर्मले यी शक्तिलाई केवल दैविक मान्ने होइन, विज्ञान र अनुशासनको रूपमा बुझ्ने अभ्यास गरेको छ। आजको युगमा आदि दैविक अनुशासन वातावरण संरक्षण, जलवायु परिवर्तन, प्राकृतिक विपत्तिको व्यवस्थापन, र जैविक सन्तुलनजस्ता विषयहरूसँग प्रत्यक्ष सम्बन्धित छ। जब हामी प्राकृतिक चक्रको अनादर गर्छौं, त्यहीँबाट संकट जन्मिन्छ। त्यसैले आदि दैविक अनुशासनले मानव र प्रकृतिबीचको सम्बन्धलाई सशक्त बनाउने कार्य गर्छ।

आदि भौतिक भन्नाले पञ्चमहाभूत (पृथ्वी, जल, अग्नि, वायु, आकाश) र इन्द्रियगत भोगवासनासँग सम्बन्धित आयामलाई जनाइन्छ। आजको भौतिक विज्ञान, शरीर–शास्त्र, औषधि विज्ञान, र न्स्नायुविज्ञान यी सब आदि भौतिक अनुशासनका आधुनिक स्वरूप हुन्। योगशास्त्रले इन्द्रिय संयम र शरीरको अनुशासनमार्फत भौतिक दु:खको नियन्त्रण गर्ने उपाय दिएको छ। वर्तमान युगमा यिनको उपयोग स्वस्थ जीवनशैली, आहार संयम, योगाभ्यास, र मानसिक स्थिरताको माध्यमबाट भैरहेको छ। यो अनुशासनले इन्द्रिय सुखको अति भोगबाट उत्पन्न हुने मानसिक र सामाजिक समस्या समाधानमा पनि सहयोग पुर्‍याउँछ।
अन्तिममा, आध्यात्मिक अनुशासन आत्माको स्वभाव, चेतना र मानसिक अवस्था, चित्त, मन, बुद्धि र अहंकारको नियन्त्रणसँग सम्बन्धित छ। आध्यात्मिक ताप भनेको हाम्रो भित्रको अज्ञान, मोह, र भ्रमबाट उत्पन्न हुने असन्तुलन हो। उपनिषद् र भगवद्गीताजस्ता ग्रन्थहरूले आत्मसाक्षात्कार, विवेक र आत्म–नियन्त्रणलाई नै आध्यात्मिक मुक्ति मार्ग मानेका छन्।

आजको जमानामा यो अनुशासन ध्यान, माइन्डफुलनेस, मनोचिकित्सा, र भावनात्मक बुद्धिमत्ताका रूपमा प्रयोग भइरहेको छ। मानसिक स्वास्थ्य संकट, तनाव, एक्लोपना र उद्देश्यविहीनता, यी सबैको समाधान आध्यात्मिक अनुशासनमार्फत सम्भव छ।
यी तीनै अनुशासनहरू,आदि दैविक, आदि भौतिक र आध्यात्मिक, अलग–अलग देखिए पनि वस्तुतः तिनीहरू एकअर्कासँग अन्तरनिहित छन्। आजको युगमा यी अनुशासनहरूलाई एकीकृत दृष्टिले अध्ययन र प्रयोग गर्नु अत्यावश्यक छ। शिक्षा, स्वास्थ्य, समाज, वातावरण र आध्यात्मिक चेतनाको समृद्धिको लागि यी अवधारणाहरू केवल धार्मिक, दार्शनिक सन्दर्भ होइनन्, यिनले आधुनिक जीवनमा गहिरो रूपान्तरण ल्याउने सामर्थ्य राख्छन्। यिनको सदुपयोगले व्यक्ति र समाज दुबैलाई दिगो शान्ति, समृद्धि र सन्तुलनतर्फ डोहोर्‍याउन सक्छ।