प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर परियोजनामा नमिलेका विषय टुंग्याउने गृहकार्य गर्दैछौंः उर्जामन्त्री खड्का


कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताएका हुन् ।

उनले भने, ‘गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ’, उनले भने, ‘वर्षातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।’

मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।

उनले पञ्चेश्वर परियोजना लगायतका आयोजनाबारे दुईपक्षीय हितमा रहेर वार्ता गर्ने र प्रधानमन्त्रीको भारत भ्रमणका क्रमका पञ्चेश्वरमा नमिलेका विषय टुंग्याउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।