काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूहरु कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा रहेको र त्यो अडान कामयमै रहेको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्री ओलीमाथि छानबिन गर्नुपर्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति भने आपत्ति जनाएका छन् । उनले आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? भन्दै प्रश्न गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री ओलीमाथि छानबिन गर्नुपर्ने बताएका थिए ।
यस्तो छ भट्टराईको धारणा
कमरेड पुष्पकमल दाहालज्यू
लालसलाम
तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री केपी ओलीलाई समेत छानबीन गर्नुपर्ने भनेर मंतव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।
१. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौ । आज पनि हामी यो अडानमा कायम छौ ।
२. तपाईंले वर्तमान प्रधानमन्त्री केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा ‘प्रचण्ड’ अडानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाईं नै प्रधानमन्त्री हुनुहुन्थ्यो र तपाईंकै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईं कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस् ।
३. प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको थियो । तर समितिको प्रतिवेदन संसदमा पेश गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होइन र ? अनि छानबिन त तपाईंमाथि नै गर्नु पर्ने हो की ? आफनै बोली आफैंलाई गलापासो नहोस् !

प्रतिक्रिया