काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र गर्न नदिने संकल्पप्रति आफू दृढ रहेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले माओवादी सांसद महेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले माओवादी सांसद लेखनाथ दाहालप्रति कटाक्ष गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका विषयमा म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति दृढ छु । यद्यपि केही मान्छेको फेसन हुने गर्छ, प्रधानमन्त्रीलाई लान्छना नलगाइ नहुने । त्यस्ता मान्छेले कहिले कहिले पित्तल चढाए भनेर हल्ला गर्छन्, अहिले पनि छानबिन होस् भनेर भन्छन् । त्यस्ता कुरामा वास्ता गर्दिनँ, चित्त दुखाउँदिन ।’ सांसद दाहालले पशुपतिको जलहरीमा सुन भनेर पित्तल राखिएको आरोप लगाएका थिए ।
प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रकियालाई टुङगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
उनले बेपत्ता र द्वन्द्व पीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको बताए । उनले भने,‘जवाफ संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रकियालाई टुङगोमा पुर्याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ। संविधानले निर्देशन गरे बमोजिम शहीदहरू, बेपत्ता र द्वन्द्व पीडितहरूको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ छ । पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ । ’
साथै उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विषय सबैको उत्तिकै चासो र सरोकारको विषय भएको बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्था बमोजिम नै आयोगहरू गठन भैइ कार्य प्रारम्भ भैइसकेको बताए ।

प्रतिक्रिया