कांग्रेसका मन्त्रीले खल्तीमा राजीनामा बोकेर बस्नुपर्छः महामन्त्री थापा


चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक ओहोदामा रहँदै गर्दा कसैले बद्नियत राखेर भ्रष्टाचार गर्ने, ठग्ने काम गर्छ भने उसलाई जोगाउन नहुने बताएका छन् ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले मंगलबार आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कानुनी शासन भएको देशमा कानुनले जे भन्छ त्यही हुने बताए । उनले गलत भएको मान्छेलाई कुनै पनि समर्थन गर्न नहुने बताए ।

उनले भने, ‘सार्वजनिक ओहोदामा रहँदै गर्दा मैले बदनियत गर्दै कुनै काम गरियो, ठगी भयो, भ्रष्टाचार गरियो भने त्यो बेलामा म प्रतिको तपाईंको धारणा– निरपेक्ष रहनुपर्छ। तपाईंले भन्नुपर्छ– कानुन शासन भएको देशमा कानुनले जे भन्छ त्यही हुन्छ। बीपी कोइरालाले सिकाएका कुरा यही हो।’

उनले एमालेसँग गठबन्धनमा भएकै कारणले कांग्रेसको मूल्यमान्यतामा सम्झौता गर्न नसक्ने बताए । उनले भने, ‘हामी सरकारमा एमालेसँग छौँ भन्दै गर्दा हाम्रा आधारभूत कुराहरूसँग, न्यूनतम मूल्यमान्यता जे छ त्यसँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने एक मिनेट पनि नसोची तिम्रो सरकार तिमीलाई मुवारक, हामी आफ्नो बाटो हिँडौं भनेर भन्छु म, त्यो हिम्मत बोकेर बस्नुपर्छ ।’

महामन्त्री थापाले कांग्रेसका मन्त्रीले खल्तीमा राजीनामा बोकेर बस्नुपर्ने र गलत काम हुने बित्तिकै प्रधानमन्त्रीको टेबुलमा राखिदिने हिम्मत गर्नुपर्ने बताए । उनले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताए ।

महामन्त्री थापाले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताए । उनले भने, ‘बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो । त्यसरीनै हामी हिँड्न जरुरी छ ।’

बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उनले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको बताए । उनले भने, ‘कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो । यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो ।’

अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उनले यसलाई जगाई राख्न सक्नुनै बिपीको सच्चा अनुयायी भएको बताए ।