साफ यु-२० महिला च्याम्पियनसिपमा उपविजेता नेपाली टोली स्वदेश फिर्ता


काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । मंगलबार स्वदेश फर्किएका टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ(एन्फा) का केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

च्याम्पियनसिपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेकी खेलाडी पूर्णिमा राईले अन्तिममा आएर बंगलादेशसँगको खेलमा हार व्यहोर्नपर्दा दुःख लागेको बताइन् ।

उनले उचित क्याम्प र तालिम हुन नसक्दा बंगलादेशसँग पराजित हुन पुगेको पनि बताइन् । बंगलादेशमा सोमबार भएको फाइनलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजित भएको हो । नेपाल यसअघि लिग चरणको पहिलो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।

डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा यसअघि नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । यस्तै भुटानलाई ६–१ र ८–० गोलले हराएको थियो ।