ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको छः महासचिव भुसाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन् ।

माक्र्सवादी अध्ययन केन्द्रले मंगलबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन महासचिव भुसालले यो नै कम्युनिष्ट आन्दोलनको विचलन भएको बताएका हुन् ।

उनले अहिले राजनीति सत्ता केन्द्रित भएको बताए । उनले गठबन्धन बनाउने र राज्य दोहन गर्ने राजनीति स्थापित भएको भएको भन्दै यसले जनतामा असन्तुष्टि पैदा गरेको बताए ।

उनले भने, ‘एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको छ । यो हाम्रो आन्दोलनको कस्तो विरोधाभास हो ?’

उनले ०८४ को चुनाव बङ्गलादेश र पाकिस्तानको मोडलमा जानसक्ने आशङ्का व्यक्त गरे । उनले भने, ‘०८४ सम्म दिन सजिला छैनन् । सन्केको समाज, उग्र हुँदै गरेको समाजले गर्दा सडक अझै अराजक हुँदै जाने खतरा छ । ठूलो भ्रष्ट मुर्दावाद, साना भ्रष्ट जिन्दावाद, पुराना भ्रष्ट मूर्दावाद, नयाँ भ्रष्ट जिन्दावाद भनेर नारा लाग्ने खतरा छ । त्यसो हुँदा ३ महिना सरकार बन्दैन, बनेको १५ दिनमा ढल्छ । यो दुवै अवस्थामा संविधान खतरामा छ । नेपालीका दूर्दिन देख्छु ।’

भुसालले पछिल्लो समय राजनीतिक आन्दोलनमा युवा पुस्ताको मनस्थिति फरक रहेको बताए । उनले भने, ‘हामीले बिर्सिनु हुँदैन हरेक क्रान्तिकारी आन्दोलन यो युगको बौद्धिक आन्दोलन हो ।सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो । त्यसको निष्कर्ष आफैंमा बौद्धिक निष्कर्ष हो । आजको राजनीतिक आन्दोलनमा युवाहरुको मनस्थिति फरक छ । युवाको मनस्थिति बुझ्न नसके यसको मूल्य हामीजस्तो दोस्रो पिंढीले तिर्नुपर्नेछ ।’