अब म पछि हट्ने कुरा हुँदैन र छैनः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफू सक्रिय राजनीतिबाट पछि नहट्ने बताएकी छन् । मंगलबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने बताएकी हुन् ।

उनले अहिले आफ्नो पक्षमा बोल्ने कार्यकर्ताहरूलाई आतङ्कित पार्ने काम भइरहेको भन्दै आपत्ति जनाइन् । उनले भनेकी छन्, ‘म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन ।’ उनले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् ।

उनले भदौमा हुने भनिएको विधान महाधिवेशनमा आफूलाई जान नदिने रणनीतिबारे यसअघि नै जानकार रहेको बताइन् । उनले भनिन्, ‘भदौमा हुने विधान महाधिवेशनमा मलाई जान दिँदैनन् भन्ने कुरा थाहा थियो । अहिले पार्टीमा नीतिको बहस छैन । किन भने विधान महाधिवेशनअघि त नीतिको बहस हुनुपर्ने हो । बैठकमा खाली अध्यक्ष केपी शर्मा ओली भनेर भनिएको छ।’

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा फर्किने आफ्नो निर्णयपछि एमालेमा आतंक सृजना भएको बताइन् । उनले भनिन्, ‘मैले राजनीतिमा आउने भनेपछि अहिले नेकपा एमालेमा टेरर जस्तो सिर्जना गरिएको छ । दुई कार्यकाल र ७० वर्षे उमेर हद राख्दा केपी शर्मा ओलीलाई नै बाधा छ ।’

तर एमाले जारी केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिमा आउन नदिने तयारी गरेको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको विषयमा केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिने सम्भावना रहेको बताएका छन् । उनले आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा केही निर्णय लिने अपेक्षा गरेको बताएका छन् ।