एमाले कास्कीले घुस प्रकरणका मन्त्रीले राजीनामा दिनुपर्छ भनिसक्यो, तर हामी चुप लागेर बसेका छौंः शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेले भूमि विधेयकमा हतारो गरेको आफू अचम्मित भएको बताएका छन् ।

बिपी कोइरालाको ४३ औं स्मृति दिवसमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले भूमि विधेयक आजको भोलि नै पारित गर्ने गरी एमालेले हतार गरिरहेको बताएका हुन् । उनले एमाले सांसदहरु विधेयकमाथि समितिमा छलफल गर्नबाट किन डराइरेका भन्दै प्रश्न गरे ।

उनले भने, ‘भूमि विधेयक के हतार छ पारित गर्न ? आजभोलि नै पास गर्ने किन ? किन समितिमा छलफल गर्न एमालेका सांसदहरू डराइरहेका छन् ?’

कोइरालाले कुलिङ पिरियड, भूमि विधेयक र संवैधानिक परिषद विधेयकमा एमालेले कांग्रेसको मुख्य मूल्यमान्यतामा आक्रमण गरेको आरोप लगाए ।

उनले भने, ‘प्रतिनिधिसभाले संवैधानिक विधेयक पास गर्यो, हामीहरूले पास गरयौं, राष्ट्रियसभाले त्यसलाई परिमार्जन गरेर पठायो, हामीहरूले दुई दिन रोक्यौं । तर ह्वीप लगाएर पास भयो । यो गम्भीर विषय छ। यो विषयले गर्दा कांग्रेसको मुटुमा, कोरभ्यालुमा एमालेले हामीहरूलाई आक्रमण गरिराखेको छ ।’

उनले घुस डिलको अडियो प्रकरणका एक मन्त्रीले राजीनामा दिएपनि अझै अरु मन्त्री बाँकी रहेकाले कांग्रेस त्यसको लाछी भएर बसेको बताए । उनले भने, ‘एमाले कास्कीका जिल्ला समितिले भूमि मन्त्रीले राजीनामा दिनुपर्छ भनेको छ तर हामी चुप लागेर बसेका छौं, योभन्दा लाछीपन के हुन्छ ?’