बहुमतको नाममा इतर पक्षलाई मानमर्दन गर्नु गलतः नेता पाठक


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले प्रजातान्त्रिक पार्टीभित्र वाद, विवाद, छलफल र सहमति पनि हुने भएकाले त्यसलाई पहाडन बनाउन नहुने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत पाठकले पार्टी भित्र कुनै बहस उठ्यो भन्दैमा पार्टी फुटाउन लाग्यो भन्ने चिन्तन त्याग्नु पर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी यो मुलुकको भरपर्दो शक्ति हो । यो पूर्ण प्रजातान्त्रिक र जीवन्त क्रियाशील दल हो । एउटा प्रजातान्त्रिक पार्टी भित्र वाद, विवाद, छलफल हुन्छ र सहमति पनि हुन्छ । यसलाई पहाड बनाउन हुँदैन । पार्टी भित्र कुनै बहस उठ्यो कि पार्टी फुटाउन लाग्यो भन्ने चिन्तन त्याग्न पर्छ । केही यस्ता साथीहरु छन् जसलाई राप्रपाकोबारेमा पूर्ण जानकारी छैन उनीहरुको उत्ताउलोपन र सामाजिक संजालको प्रस्तुती उदेकलाग्दो छ । राप्रपाले सामाजिक संजाल सम्वन्धि कार्यविधि बनाएको थियो त्यसलाई कार्यान्वयन गरौं ।’

उनले संस्थापन पक्षले पार्टी चलाउने र इतर पक्षले प्रतिपक्षको भूमिका निर्वाह गर्ने संसाभरिकै प्रजातान्त्रिक पार्टीको नियम भएको तर वहुमतको नाममा इतर पक्षलाई छानीछानी दुव्र्यवहार र मानमर्दन गर्न नपाइने बताएका छन्।

उनले भने, ‘पार्टी भित्र उठेका समस्यालाई समाधान गर्ने महाधिवेशन पछिको वैधानिक इकाई केन्द्रीय समिति हो । जहाँ विवादको विषयमा सार्वभौम केन्द्रीय सदस्यहरुले निकास दिन्छन् । पार्टीमा लगानी गरेका, मेहनत गरेका,त्याग–तपस्या गरेका अझ राप्रपा भए बापत कुटाइ, जेलनेल अनि सम्पति समेत गुमाएकाहरुलाई पार्टीको बढी माया हुनु स्वभाविक हो । यसलाई पार्टीमा कम योगदान हुने र त्यति मेहनत नभएका,कम परिचित साथिहरुले अन्यथा लिन हुँदैन । राजसंस्था, हिन्दू अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारमुक्त समाज, हाम्रो अविचलित आस्था हो । यो आस्थाप्रति हामी पूर्ण प्रतिवद्ध रहन्छौं । हाम्रो यो निष्ठामा कसैले शंका नगरे हुन्छ ।’