जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं । जनता समाजवादी पाटी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

सरकारलाई समर्थन दिएपनि जसपा नेपाल सरकारमा सहभागी भएको थिएन । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो ।

यस्ता छन् बैठकका निर्णय

जनता समाजवादी पार्टी, नेपाल संसदीय दलको बैठक आज मिति २०८२ साल असार ३२ गते संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्यो । बैठकले वर्तमान सरकारको हालसम्मको कार्यको निम्नानुसार समिक्षा गरी निर्णय गरेको छ ।
वर्तमान सरकारले,

१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।

२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।

३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु ।

४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।

५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।

६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।

७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।

८. मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।

९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।

१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।

११. वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।