मन्त्रीको राजीनामा फासफुस गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न होः सूर्य थापा


काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले घुसकाण्डको अडियो प्रकरणमा संलग्नहरुकाबारेमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत सांसद थापाले यस प्रकरणमा विवादास्पद अडियोमा कोको संलग्न रहेका छन् र ती सक्कली हुन् कि नक्कली हुन् भन्ने विषयमा अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गर्नुपर्ने बताए ।

उनले भनेका छन्, ’संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ । यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भएपनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुध/पानीको पानी छुट्याउनु पर्छ । दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन । झोसपोलवाला, बिचौलिया धन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन । विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।’