झाँक्रीले अब यस्ता शब्दहरु निस्किँदैनन् भन्नुभयो भने माफी दिने सोचमा छौंः सचिव पाण्डे


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले झाँक्रीलाई नै नोक्सान गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा पाण्डेले झाँक्रीले मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गर्न नहुने बताएका हुन् ।

उनले भने,‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ । जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिंगो मुलुकले माधव नेपालालई भ्रष्टाचारी भन्न सकेको छैन । उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन् । तर, उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिँदैन । यस सम्बन्धमा हामीले सचिवालय बैठक बस्यौं । छलफल गर्यौं । यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहोर्याउने गरि र अब यस्ता शब्दहरु निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौं । उहाँले कुनखालको रिपोर्ट दिनुहुन्छ, त्यसमा भरपर्छ ।’

उनले वामदेव गौतमसँग एकवर्षदेखि छलफलमा रहेको र अहिले आएर एकता गर्नेबारे सहमति भएको बताए । उनले भने,’उहाँसँग एक वर्षदेखि कुरा चलेको हो । आगामी साउन २ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर एकीकृत समाजवादीसँग एकता हुन्छ । वामदेवको प्रस्ताव ग्रहण गर्नेखालको आएको छ । अहिले उहाँको प्रस्ताव हेरेर पत्याएका छौं ।’