काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउने भएपछि नेकपा एमालेमा तरंग उत्पन्न भएको छ । संस्थापन इतर समूहका नेताबीच भनाभन हुन थालेपछि शुक्रबार बिहान एमाले सचिव योगेश भट्टराईले एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका थिए ।
भट्टराईले सामाजिक संजालमा लेखे, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं, बसौं, आपसमा विमर्श गरौ, सहकार्य मार्फत समाधान खोजौं, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार !’
भट्टराईले यस्तो लेखेपछि एमाले नेतृ उषाकिरण तिम्सिनाले जवाफ फर्काएकी छन् । उनले दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङ्देन, कमल थापा, धवल शम्सेर, दीपक बोहरासम्म सँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा/संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गर्न आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘विगत ११ वर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड । मान्छेहरु बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन् । तर राजनीति त विधि र विचारमा टेकेरै हिँड्नु पर्छ । फेरि पनि सांगोपांगो हिसाब– किताब केन्द्रीय कमिटीले गरोस् । दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिंगदेन, कमल थापा, धवल शम्सेर, दीपक बोहरासम्म सँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यता समेत खोस्ने हर्कत कमिटीका नाममा/संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ । खतराको घण्टी, सच्चिने वा सक्किने लगायत यक्ष विषय र प्रश्नबाट भाग्न मिल्ने ठाउँ (स्पेस) हामीसँग छैन जस्तो लाग्छ ।’

प्रतिक्रिया