चन्द्रागिरी नगरपालिकाका मेयर गिरी दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलनमा भाग लिन स्पेन जाने


काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी स्पेनको सेभिया सम्मेलनमा सहभागी हुने भएका छन् । जुन ३० देखि जुलाई ३ सम्म स्पेनको सेभिल्लामा हुने सम्मेलनमा सहभागी हुन मेयर गिरी स्पेन जान लागेका हुन् ।

उनलाई सम्मेलनमा वक्ताकारुपमा आमन्त्रण गरिएको हो । ‘दिगो विकास लक्ष्यका लागि स्थानीय वित्त — वर्तमान अवस्थाको समीक्षा र भविष्यको बाटो’ शीर्षकमा आयोजना हुने यो साइड इभेन्ट चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलन सेभिया सिटी हलमा हुनेछ। बिहान ९ः३० देखि ११ः०० बजेसम्म सञ्चालन हुने कार्यक्रमले स्थानीय सरकारहरूको वित्तीय भूमिकालाई सशक्त बनाउने उद्देश्य राखेको छ ।

संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमका सहर इकाइ प्रमुख गुलनारा रोलद्वारा पठाइएको औपचारिक निमन्त्रणामा मेयर गिरीलाई चन्द्रागिरी नगरपालिकाले तयार पारेको  Voluntary Local Review (VLR)र त्यसको कार्यान्वयन प्रक्रिया प्रस्तुत गर्न अनुरोध गरिएको छ। यस माध्यमबाट अन्य स्थानीय तहहरूले समेत सिक्ने अवसर पाउने अपेक्षा गरिएको छ । कार्यक्रममा नवीनतम वित्तीय उपायहरूबारे छलफल हुनेछ ।

मेयर गिरीको सहभागिता सुनिश्चित गर्न यात्रा खर्च र दैनिक भत्ता संयुक्त राष्ट्रसंघको नियमअनुसार आयोजकले व्यहोर्नेछन् । कार्यक्रममा विश्वभरका नीति निर्माता, विकास साझेदार तथा विज्ञहरूबीच स्थानीय तहहरूलाई SDG कार्यान्वयनमा सक्रिय वित्तीय साझेदार बनाउने विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ।