विपद प्रतिकार्य कृत्रिम घटना व्यवस्थापन अभ्यास(फोटोफिचर)


काठमाडौँ । ग्याँसमा सल्किएको आगो निभेपछि घटनाका प्रत्यक्षदर्शीले ताली बजाए । आगोले जल्दा खरानी हुने बस्तुमा लागेको आगो, पेट्रोल डिजेल र तेलमा लागेको आगो, ग्याँसमा सल्किएको प्रारम्भिक चरणको आगो निभाउने सिपको अवलोकन गरे ।

सरीरमा आगो सल्कियो भने आगो निभाउने तरिका हेरे । पानीमा डुवेको मानिसलाई बचाउन स्थानीय स्तरमा प्राप्त हुने बस्तुको प्रयोग गर्ने सिपमा जानकारी लिए । घटनाको प्रारम्भिक अवस्था व्यवस्थापन गर्दै सहयोग गर्ने निकायसँग सम्पर्क गर्ने अभ्यास अवलोकन गरे ।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ ले प्रहरी वृत्त बानेश्वर, सशस्त्र प्रहरी बल २० नम्बर गण (विपद तथा उद्धार), महानगर प्रहरी बल, सामुदायिक प्रहरी सेवा केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरेको विपद पूर्वतयारीका लागि कृत्रिम घटना व्यवस्थापन कार्यक्रममा सहभागी स्थानीयबासीलाई घटना व्यवस्थापनमा हरेक व्यक्तिले निर्वाह गर्नुपर्ने भूमिका महसुस गराइएको थियो ।

कसलाई कहिले के विपद आइलाग्छ ? अनुमान गर्न सकिँदैन । यस्ता विपदमा सकेसम्म जनधनको क्षति कम गराउन प्रभावकारी संयन्त्र निर्माण गर्न खोजेका छौँ । कार्यक्रममा वडाध्यक्ष सरोज ढकालले भने, ‘वडास्तरीय विपद व्यवस्थापन समितिले समुदाय स्तरको क्षमता पहिचान गर्नेछ । यसअनुसार भूमिका प्रदान गर्नेछ ।’

वडाभित्रका सबै समुदायलाई सचेत गराउँदै सम्भावित विपदको समयमा आफू बच्न र अरुलाई बचाउन उत्तरदायी बनाउने योजना छ । वडास्तरीय विपद व्यवस्थापन तथा नागरिक सुरक्षा समितिका संयोजक हुमादेवी आचार्यले भनिन्, ‘सकेसम्म कसैले विपद भोग्नु नपरोस् । यदि विपत्तिको अवस्था आइलाग्यो भने संयमताका साथ सामना गर्न सकियोस् । यसका लागि काम भइरहेको छ ।’

वडा सदस्य एवं समितिका सचिव अशोक केसत्रका अनुसार कृत्रिम अभ्यास अवलोकनका लागि वडाभित्रका उपभोक्ता समिति, टोल सुधार समिति, क्लव, संघसंस्थासहितका प्रतिनिधिहरुलाई सहभागी गराइएको थियो ।

कार्यक्रममा आगोको विज्ञानका विषयमा प्रस्तुतिकरण गर्दै नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले, कुनै कारणले घरमा ग्याँस लिक भएको थाहा पाए विजुली बत्ती बाल्न पनि नहुने र निभाउन पनि नहुने बताए । यसो गर्दा स्वीचबोर्डमा स्पार्क हुन सक्ने र यसबाट आगो सल्किन सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा फायर इस्टीङ्ग्वीसरका प्रकार, यसको प्रयोग गर्ने तरिका, आगोको प्रकार चिन्ने तरिकाका विषयमा प्रस्तुतिकरण गर्दै नेपाल प्रहरीको विपद व्यवस्थापन महाशाखा सामाखुशीका प्रहरीका नायव निरीक्षक उमेशजंग रायमाझीले चुलोको काम छोडेर त्यससँगै अरु पनि काम गर्न थाल्दा पनि आगलागीको जोखिम देखिएको बताए ।

कृत्रिम अभ्यासमा आगोको प्रकारअनुसार फायर इस्टीङ्ग्वीसरको प्रयोग, ग्याँमा लागेको आगो निभाउने तरिका, सरीरमा आगो लागेपछि जलेका व्यक्तिको सरीरबाट आगो निभाउने अभ्यास गरिएको थियो । यसरी दुर्घटनामा परेका व्यक्तिको नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले प्राथमिक उपचार गरेर अस्पताल लगेका थिए । सशस्त्र प्रहरी निरीक्षक सरोज कटुवालको नेतृतवमा रहेको टोलीले पानीमा डुवेको व्यक्ति, यस्ता व्यक्तिको अवस्था पहिचान गरेर उद्धारको अभ्यास प्रदर्शन गरेको थियो ।