काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ ।
प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ ? र सम्भावना देखाएको छ, भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवद्र्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्नसक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताए । यसका लागि कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर स्थापना, डिजिटल अर्थतन्त्र र प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्नेगरी नीतिगत प्रयासहरू अगाडि बढाइएको उनको भनाइ छ ।
नेपाल डाटा सेन्टर स्थापनाका लागि प्राकृतिक रूपले उपयुक्त भएको बताउँदै मन्त्री गुरूङले यसलाई डिजिटल अर्थतन्त्रको आधारस्तम्भ बनाउने योजना रहेको समेत उल्लेख गरे । हिमाली क्षेत्रको चिसो मौसम र सस्तो हरित ऊर्जा (जलविद्युत्) उपलब्धताले नेपाललाई डाटा सेन्टर स्थापनाको लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावन रहेको मन्त्री गुरूङको भनाइ छ ।
युएनडिपी नेपालका आवासीय प्रतिनिधि क्योको योकोसुकाले कृत्रिम बौद्धिकताको प्रयोगबाट कसरी लाभ लिन सकिन्छ र यसका चुनौती के हुन सक्छन् भन्ने कुरालाई केन्द्रमा राखेर प्रतिवेदन ल्याइएको बताए ।
नेपालको हकमा समावेशी सेवा प्रवाह, स्थानीय तहहरूको कार्यक्षमतामा सुधार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण, तथ्याङ्कमा आधारित नीति निर्माणजस्ता क्षेत्रमा एआईको प्रयोग प्रभावकारी हुनसक्ने देखिएको उनको भनाइ थियो ।
मानव विकास सूचकाङ्कमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा छ । नेपाल शून्य दशमलव ६२२ सूचकाङ्कसहित एक सय ४५औँं स्थानमा छ । पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख छ ।
नेपालको मानव विकास सूचकाङ्क खराब हुनुमा प्रतिव्यक्ति आय कमजोर हुनु र लैगिक असमानता कायम रहनुलाई पनि प्रमुख कारण मानिएको छ ।

प्रतिक्रिया