पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदवन्दी बढी जग्गा छुट दिने सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा मुद्दा दायर गरेको भन्ने संचारमाध्यमा आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्वन्धमा भएको निम्न तथ्य सार्वजनिक गर्न चाहन्छु।
१.पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई कुनै सार्वजनिक वा सरकारी जग्गा दिई हदवन्दी छुट दिएको होइन, व्यक्तिको नाममा भएको जग्गा खरिद गरि हदवन्दी छुट दिने सम्बन्धमा मन्त्रिपरिषदबाट प्राप्त प्रस्तावमा मन्त्रिपरिषद विधेयक समितिले निम्न ‘शर्त’ थप गरि हदवन्दी छुट दिने निर्णय भएको होः
‘जुन प्रयोजनको लागि जग्गा खरिद गरिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने र खरिद गरिएको जग्गा वेचविखन गर्न नपाउने गरि भूमि सम्वन्धी ऐन, २०२१ को दफा १२ बमोजिम हदवन्दीभन्दा बढी जग्गा खरिद गर्न स्वीकृति दिने’
२.भूमि सम्वन्धी ऐन, २०२१ लागु भैसकेपछि गिरिवन्धु टि–स्टेट लगायत कैयौंलाई विना शर्त हदवन्दी छुट दिएको देखिन्छ।
३.गिरिवन्धु टि–स्टेट सम्वन्धी सम्मानित सर्वोच्च अदालतमा परेको उत्प्रेषणको रिटमा सर्वोच्च अदालत, संवैधानिक इजलासमा मिति २०८०।१०।२४ मा सुनुवाई हुदा निम्न आदेश जारी भएको छः
‘कुनै कम्पनी वा संघ–संस्थालई जुन प्रयोजनको लागि जग्गामा हदवन्दी छुट दिइएको हो, त्यस्तो जग्गा सोबाहेक अन्य प्रयोजनमा लगाउन पाइँदैन । बिक्री, वितरण, सट्टापट्टा वा स्थानान्तरणको नाममा हदवन्दी छुटको नाममा वा भूमिको व्यापारीकरण गर्न मिल्दैन । हदवन्दी छुट पाउँदा राज्यले तोकेको शर्त बमोजिम भोगचलन वा उपयोग नगरिएको जग्गा राज्यले प्राप्त गर्नु पर्दछ । त्यस प्रकारको हदवन्दी भन्दा बढी जग्गालाई राज्यको सम्पति मान्नु पर्ने हुन्छ’।
अतः मैले कुनै गल्ती गरेको छैन । म यसको दृढतापूर्वक प्रतिवाद गर्नेछु । यो विषय अदालती प्रक्रियाद्वारा निरूपण हुने हुँदा न्याय पाउनेमा पूर्ण विश्स्त छु। बाँकी पर्दा पछाडिका खेलहरू समयक्रममा उजागर हुदै जानेछन्।
-प्रेमबहादुर सिंह, पूर्वमन्त्री

प्रतिक्रिया