अहिलेको राजनीति द्वन्द्व सत्ताको खेल हो


-डा. युवराज संग्रौला ।

क्रान्ति भनेको उन्नयन हो । उन्नयन का दुईवटा गुण हुन्छन् । एक, यसले हिजोको विश्लेणद्वारा आज परिवर्तनको अवस्था निर्माण गर्छ । दुई, यसले बिग्रह होइन रचनाको स्वरुप बोक्छ । रिभोलुसन र क्रान्ति पृथक कुरा हुन् । रि इभोलुसन रिभोलुसन हो । हिजो एउटा निर्माण गरिएको थियो, त्यो काम लागेन। आज त्यसलाई भत्काएर नयाँ निर्माण गर्नु रिभोलुसन हो । क्रान्ति उन्नयन हो, त्यसैले क्रान्ति भनेको गुणहीन निर्माणलाई फ्याँकेर नयाँ रचना गर्नु वा दुर्गुण भएकालाई गुणिलो बनाउनु हो ।
नेपालको राजनीतिमा यसलाइ हेरौं ।

१. नेपालमा निरंकुश व्यवस्था फ्याँकेर नागरिक स्वतन्त्रता प्राप्त गरियो । आज गणतन्त्र बोक्ने संविधान छ । नागरिकसँग सैद्धान्तिक भएपनि स्वतन्त्रता छ । तर अहिलेको राजनीतिक व्यवस्थामा नागरिक सहभागिता र राज्यको स्वनिर्णयको सामथ्र्य र नागरिकप्रति उत्तरदायित्व छैन । यी दुई गुणको निर्माण गर्नुपर्ने अवस्था छ। अतः नेपालमा क्रान्ति भित्र क्रान्तिको अर्थात् परिवर्तन भित्र परिवर्तनको अवस्था छ।

. यो अवस्थाका ४ वटा शर्त छन् (क) नियोजित नियन्त्रित राजनीतिक अस्थिरता समाप्त गर्नु (ख) बिसर्जित अर्थतन्त्र र उत्पादन पुनस्र्थापना गर्नु, (ग) संरचनात्मक तहगत जात वरियता समाप्त गर्नु (घ) र राज्य शक्तिको पूर्ण प्रक्षेपण गरि नागरिकलाई स्व–शासनको अधिकार दिनु।

३. अहिले देशमा भैरहेका राजनीतिको लडाइँ यी शर्त पुरा गर्नुमा केन्द्रिकृत छैन । अतः अहिलेको राजनीति द्वन्द्व सत्ताको खेल हो । यो व्यवस्थाको लक्ष नै दलको शासन स्थापित गर्नु हो । तर २१ औं शताब्दी त “नागरिक समतावाद“ को चाहनाको युग हो । तसर्थ नेपालको दिशा परिवर्तन गर्न नागरिक सर्वोच्चता बाटो हिडेर मात्र माथिका चार शर्त पूरा गर्नुपर्छ ।
हामीले देशको वर्तमानलाई बदल्नु पर्छ। अवस्था बदल्न प्रणाली वद्ल्नु पर्छ। प्रणाली बदल्न विचार चाहिन्छ । विचारलाई दर्शन चाहिन्छ । दर्शन हामीसँग प्रचुर छ।