काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भएको उल्लेख गर्दै त्यसका लागि सुरूवात गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘वर्तमान सरकार बन्दाखेरी नै संविधान कार्यान्वयनमा देखिएका जटिलताका सम्बन्धमा संशोधनको सहमति हो । यो ठीक छ । त्यसलाई गलत भन्दिन । त्यही कारणले सरकार बनेको हुनाले प्रक्रिया सुरू गर्नुपर्यो । समिति बनाउनुपर्यो । समय जति लागे पनि सुरूवात त गर्नुपर्यो नि ।’
नेता कोइरालाले सेयर राइडिङ प्रकरणका सम्बन्धमा केन्द्रले संविधानबमोजिम प्रदेशको अधिकार खुम्च्यिाउन खोजेको टिप्पणी गर्दै भने, ‘प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ? यसरी केन्द्रले हस्तक्षेप गर्न पाउँछ कि पाउँदैन ? यसमा सबैले बुझ्न जरूरी छ ।’
संसदमा पछिल्लो घटनाका सम्बन्धमा उनले आफूले अपेक्षा गरेअनुसार हुन नसकेको उल्लेख गर्दै संसदमा आरोपप्रत्यारोप हुन नहुने धारणा व्यक्त गरे । ‘संसद्ले नीति बनाउने हो । अहिले जे भइरहेको, जति कुरा आइरहेका छन् । त्यसलाई निकास दिने बाटोहरू खोज्दै जानुपर्छ । त्यो राजनीतिक दलहरू मिलेर नै खोज्नुपर्ने हुन्छ’, नेता डा. कोइरालाले भने ।
उनले सर्वसाधारण जनतामा छाएको निराशालाई हटाउन सरकारसँगै सबै लाग्नुपर्ने उल्लेख गर्दै यसमा आफ्नो पार्टीले सक्दो भूमिका निर्वाह गरिरहेको बताए ।

प्रतिक्रिया