अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान साधना प्रशिक्षण एवं श्रीराम कथा’ कार्यक्रमले नेपाल-भारतबीचको सनातन सांस्कृतिक सम्बन्धलाई पुनः उजागर गर्दै हजारौँको संख्यामा भारतका विभिन्न स्थान तथा नेपालबाट आएका भक्तजनहरुलाई आध्यात्मिक अनुभूति दिलाइरहेको छ। कार्यक्रम आगामी जेठ २७ गतेसम्म सञ्चालन हुनेछ। नेपालका विशिष्ट आध्यात्मिक व्यक्तित्व श्री स्वामी रामकृष्णाचार्यजी महाराज (महायोगी सिद्धबाबा) प्रमुख वाचक तथा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको यस कार्यक्रमको आयोजना अयोध्याको श्री मणिरामदास छावनीमा गरिएको छ ।
भव्य शोभायात्रा मार्फत भएको कार्यक्रमको प्रारम्भमा भारत तथा नेपालका हजारौं भक्तजनहरूको सहभागिता रहेको छ । महायोगी सिद्धबाबाको रथलाई शोभायात्रामा अग्रपंक्तिमा राखिएको थियो, जसले अयोध्यावासीहरूले देखाएको श्रद्धा र सद्भावलाई झल्काउँछ । शोभायात्राका क्रममा अयोध्यावासीहरूले भारत मात्र होइन, नेपालको समेत जयजयकार गर्दै नेपाली साधु-सन्त तथा भक्तजनहरुलाई आदर र स्नेह प्रकट गरेको देखिन्छ । बाटोभरि शीतल जल र पेयपदार्थ वितरण गरिएको दृश्य अत्यन्तै मनमोहक र भावनात्मक रहेको सहभागीहरूले बताएका छन्।
दश दिनसम्म सञ्चालन हुने कार्यक्रममा भारतका रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन्। नेपाल-भारतको आध्यात्मिक सम्बन्धमा पुनः ऊर्जा भरिदिने गरी यो कार्यक्रम अघि बढिरहेको अनुमान गर्न सकिन्छ ।
कार्यक्रमको मूल उद्देश्य ‘हिमालयन सिद्ध महायोग’ अर्थात् ‘सुरत शब्दयोग’ को प्रशिक्षणमार्फत आध्यात्मिक जागरण र नैतिक मूल्यमा आधारित नागरिकको निर्माण गर्नु हो । सिद्ध बाबा भन्नुहुन्छ- “भित्र पसेर हेर, माथि उठेर सोच”, जसले आत्मप्रकाश र राष्ट्रप्रेमको मार्ग देखाउँछ ।कार्यक्रममा हरेक दिन प्रातःकालीन योग-साधना, सन्ध्याकालीन कथा, भजनकीर्तन र सत्सङ्ग रहेको छ ।
यो कार्यक्रम केवल धार्मिक उत्सव मात्र नभई नेपाल-भारतबीचको सांस्कृतिक र आध्यात्मिक एकता तथा भविष्यको शान्तिपूर्ण सहकार्यको आधारशिलाका रुपमा लिन सकिन्छ । अयोध्याको पवित्र भूमिमा भइरहेको कार्यक्रमले भविष्यमा नेपाल र भारत दुवैको धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्धमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया