प्रहरीले भन्यो-डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढ्यो, बलियो ‘पासवर्ड’ प्रयोग गर्नु


काठमाडौं । प्रहरीले सूचना प्रवाहका लागि प्रयोगमा रहेका डिजिटल बोर्डहरू ह्याक हुनेक्रम बढेको भन्दै आमनागरिक र सम्बन्धित संस्थालाई सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरी डिजिटल बोर्डहरूमा अझै पनि ‘डिफल्ट युजरनेम र पासवर्ड’ अथवा अत्यन्तै कमजोर पासवर्डहरू प्रयोग गरिने गरेको पाइएकाले साइबर सुरक्षामा ठूलो जोखिम उत्पन्न भएको उल्लेख गरेको हो ।

डिजिटल सूचना प्रणालीको दुरुपयोग हुन नदिन यस प्रकारको प्रविधि प्रयोग गर्ने सरकारी तथा निजी संस्थाहरूले तुरुन्तै आफ्ना पासवर्डहरू मजबुत बनाउन र आवश्यक साइबर सुरक्षा उपायहरू अवलम्बन गर्नुपर्ने प्रहरीले अनुरोध गरेको छ ।