नेपालगंज । नेपालगंज रङ्गशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हासिल गरेको छ ।
सोमबार कर्णाली प्रदेश प्रदेश फुटबल सङ्घ विरुद्ध ६–० गोल अन्तरले जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवाती अवस्थामा दुवै टोलीको खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । खेलको १८ औ मिनेटसम्म पुग्दा सुरुमा कसले गोल गर्छ भन्ने उत्सुकता निकै तीव्र थियो ।
पहिलो हाफको १८ औ मिनेटमा कर्णाली प्रदेश फुटबल सङ्घले आत्मघाती गोल गर्न पुग्यो । कर्णालीका टिना रावतले आत्मघाती गोल गरेपछि एपिएफले एक गोलले अग्रता लिन सफल भयो । आत्मघाती गोल सँगै कर्णाली टिम आत्तिएको अवस्थामा प्रस्तुति दिइरहेको थियो ।
खेलको पहिलो हाफको ३५ औ मिनेटमा एपिएफका रेणुकाले टिमका तर्फबाट पहिलो गोल गरिन । यो सँगै एपिएफले दोस्रो गोलको अग्रता लियो ।
खेलको ३६ औ मिनेटमा एपिएफका अनिता केसीले गरेको गोलले तिन गोलको अग्रता दिलाउन सफल भयो भने खेलको ४५ औ मिनेटमा गीता रानाले गरेको एक गोलले टिमलाई चौथो गोल दिलाउन सफल भयो ।
कडा प्रतिस्पर्धामा खेल भइरहँदा दोस्रो हाफको ४६ औ मिनेटमा रश्मि कुमारी घिसिङले थप एक गोल गरेर टिमलाई ५ गोलले अग्रता दिलाउन सफल भइन । कम्तीमा एक गोलको आशा सहित मैदानमा कडा मेहनत गरिरहेको कर्णालीले पुनः खेलको ५० औ मिनेटमा आत्मघाती गोल गर्न पुग्यो ।
दोस्रो आत्मघाती गोल पनि कर्णालीकी टिना रावतबाट हुन पुग्यो । यो गोल कर्णालीका लागि निकै सकसपूर्ण रहन गयो । यो गोल सँगै एपिएफ ६ गोलले अग्रस्थानमा रहन सफल भयो ।
यो नजिता पछि कर्णालीलाई निकै दबाब सहनु पर्यो भने एपिएफले थुप्रै गोल गर्ने अवसर गुमाउन पुग्यो । एपिएफले अझै थुप्रै गोल गर्न सक्ने सम्भावना थियो तर कर्णालीका गोल किपर लीला जोशीको प्रस्तुतिले थुप्रै गोल खानबाट कर्णालीलाई जोगायो । कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो ।
गोलकिपर अञ्जना राना मगरले भने एपिएफका लागि पहिलो डेब्यू गरिन । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् । आजको खेलको म्यान अफ द म्याच रेणुका नगरकोटी घोषित हुन सफल भइन ।
अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघको सहकार्यमा जारी आजको यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको मिडिया संयोजक निरज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनलमा मङ्गलवार भोली दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधवार एपिएफ र रौतहट जिल्ला फुटबल सङ्घबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया