गणेश थापामाथि फिफाको निलम्बन समाप्त, भावी योजना के छ ?


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको दश वर्षको प्रतिबन्ध समाप्त भएको छ ।

थापाले सामाजिक संजालमार्फत आफूमाथि फिफाले लगाएको प्रतिबन्ध समाप्त भएको जानकारी दिएका हुन् । उनलाई फिफाले सन् २०१५ को १६ अप्रिल मा प्रतिबन्ध लगाएको थियो । त्यो २०२५ को अप्रिल १५ मा आएर टुङ्गिएको छ ।

थापाले भनेका छन्, ‘कठिन दश वर्षे अवधिपश्चात मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ। यो यात्रा चुनौतीपूर्ण थियो, तर यस अवधिमा मेरो परिवार, साथीहरू, शुभचिन्तकहरू र समस्त फुटबल प्रेमीहरूले गर्नुभयेको सहयोग र अटल समर्थनको लागि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु।’

उनले नेपाली फुटबलको विकास र विस्तारमा आफ्नो साथ र सहयोग सधैँ रहने उल्लेख गरेका छन् । फिफाको निर्वाचनमा घुस लिएको आरोपमा उनीमाथि दश वर्षे प्रतिबन्ध लगाएको थियो ।