काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । संवैधानिक ब्यवस्था अनुसार हरेक वर्षको जेठ १५ मा वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकोले अर्थमन्त्री डा.युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् । अपरान्ह ४ बजेबाट संसद्को दुवै सदनमार्फत सार्वजनिक हुने बजेटले कोरोनाबाट थिलथिलो परेको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने बताइएको छ ।
चालू आर्थिक वर्षको १५ खर्ब ३२ अर्बको बजेटमा सामान्य वृद्धि गर्दै बजेट ल्याउन लागेको बताइएको छ । कोरोनाको संक्रमण फैलनुअघि राष्ट्रिय योजना आयोगले १७ खर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको थियो । सोही अंकका आधारमा सबै मन्त्रालयलाई छुट्टाछुट्टै सीमा पठाएपनि कोरोनापछिको परिस्थितिमा ५ प्रतिशत कम गरी बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको थियो । २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीसहित बजेट ल्याउन लागेको हो ।

प्रतिक्रिया