गाजामा भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु


गाजा । इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले जनाएका छन् ।

‘इजरायली सेनाले गाजा पट्टीको उत्तरमा रहेको बेइट हानौन शहरमा सैन्य ड्रोनद्वारा स्थानीयहरूको समूहलाई आक्रमण गरेर दुई प्यालेस्टाइनीको हत्या गरेको छ,’ गाजास्थित स्वास्थ्य अधिकारीहरूले एक प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

इजरायली सेनाले उत्तरी गाजामा सैन्य अड्डाहरू नजिक शङ्कास्पद गतिविधिमा संलग्न धेरै व्यक्तिहरूलाई देखेपछि कारबाही गरिएको बताएको छ ।

यसैबीच, स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले हवाई आक्रमणका कारण बेइट हानौनको पूर्वी क्षेत्रबाट सयौं परिवार विस्थापित भएको जानकारी दिए ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूका अनुसार, दक्षिणी गाजाको खान युनिसको पूर्वमा रहेको अल–फराहिन शहरमा इजरायली बमबारीपछि मेडिकल टोलीले एक महिलाको शव फेला पारेका छन् । र दुई जना घाइतेको उपचार गरेका छन् ।

साथै, शहरको केन्द्रमा रहेको आफ्नो घरको छतमा उभिरहेको बेला इजरायली सेनाले गरेको आक्रमणमा परी एक युवकको मृत्यु भएको छ ।

इजरायली सेनाले खान युनिस र रफाहमा भएका घटनाहरूको बारेमा टिप्पणी गरेको छैन । इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएको एक दिनपछि यो घटना भएको हो ।