महाबुमा एमाले, गढी–६ मा कांग्रेस, डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा–४ मा कांग्रेस उम्मेदवार विजयी


काठमाडौँ । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को नतिजा आउनेक्रम जारी छ ।

महाबुमा एमाले

दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का जङ्गबहादुर शाहीले तीन हजार एक सय २७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

गढी–६ मा कांग्रेस

सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहले आठ सय १६ मत गरेर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सन्तु उराँवले सात सय ७० मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का कुशेश्वर खेरवारले छ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययाले जानकारी दिए ।

डाक्नेश्वरी १ र ४ मा जसपा

सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् ।

डाक्नेश्वरी–१ धीरेन्द्रकुमार साह र डाक्नेश्वरी– मा देवेन्द्रप्रसाद यादव निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।

सुर्मा–४ मा कांग्रेस

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।