जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ सशक्त रूपमा उठाउँछौंः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले शनिबार आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ सशक्त रूपमा उठाउन तयारी भएको बताएका हुन् ।

प्रधानमन्त्रीले नेपालमा हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमाल जोगाउनु र नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए ।

उनले भने, ‘हिउँ पर्ने ठाउँमा बाटो खोल्नुपर्यो भने नुन छरेर बाटो खोल्नुपर्ने हुन्छ । जब बाटाहरु नुन छरेर खोलिन्छ तब एकैचोटि एसिड र नुन परेपछि हिमाल कसरी रहन्छ ? त्यसपछि सेता हिमाल काला भइहाल्छन् । त्यही भएर जलवायु सम्बन्धी कर्तव्य निभाउन सकेका छैनौं तर हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ । विश्व कल्याणका लगि भए पनि हिमालको बारेमा चासो दिनुपर्ने छ ।’

उनले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए । उनले सबैभन्दा बढी सरकोरावाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्ने भूगोल नै नेपाल भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको स्पष्ट अडान र दृष्टिकोणलाई कोप–२९ मा राख्न गरी तयारी गर्ने निर्णय गरेको थियो । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने कार्यक्रम छ ।